बाबाको सम्झनामा
त्रिलोचन आचार्य
१ बोकेर पीठमा अग्लो पहाड ब्यवहारको
हिँड्नु हुन्थ्यो बुबा भन्थे रेखाले अनुहारको
सिङ्गै जहाज आफैँले हाँकेर परिवारको
उहाँ कुद्दा थियौं हामी वृत्तमा घरबारको ।
२ बुबा नै पाठ झै लाग्थ्यो पढ्न सक्दैनथें म जो
बग्दथ्यो स्नेहको धारा थाप्न सक्दैनथें म त्यो ।
घर भित्र हुँदा होस वा बाहिरी परिदृष्यमा
बाबाकै नामले हिँड्थेँ ठाडो बन्दै जहाँ तहाँ ।
३ आमा सुताउँदै भन्थिन् आफँ निद्रा बनि–बनि
बाबा उँठाउँदै भन्थे बनोस् जागा सधैंभरि
यौटाको नँसकी मेलो अर्कोको थालिने हुँदा
मायाको कसको धेर ैअल्मलिन्थेँ यदाकदा ।
४ बानी उत्तम होस् भन्ने बाबाका योजना हुने
बनोस् असल यो भन्ने बुझिन्थ्यो नभने पनि
त्यसैका लागि भोको भै बाँचेका क्षण छन् कति
दौडन्थे त्यसमा चाँडो बाबाका पाइला अति ।
५ जानु हुन्न कतै टाढा खोज्न आतुर झन् पिता
सधैँ प्यारो सधैँ सानो बाबाका दृष्टिमा म ता
बिग्य्रो गर्दैन क्यै भन्दै अल्छी भै घरमा रहे
मिठो पाके अहा ! भन्दै खाँदो हो भरमा भए ।
६ बाबाकै हातले जानेँ कखरा लेख्न सर्सर
बाबाकै बातले जाँने व्यवहार सरासर
बाबाकै नामले थालेँ काम–धन्धा निरन्तर
कुद्थेँ, के पुग्दथेँ दौडी बाबाभन्दा अझै पर ?
७ पाएँ जगत बाबाको त्यहीँ घुम्दैछु फन्फनी
पाएँ रगत बाबाको त्यै छताछुल्ल डुल्छ नि
पाएँ रहर बाबाको त्यतै गर्दैछु खल्बल
पाएँ लहर बाबाको राख्दैछु नाम त्यै तल ।
८ बाबाको म तपस्या हुँ छाम्दा भेटिन्छ धुक्धुकी
बाबाको म सदीक्षा हुँ चम्किलो साँझको टुकी
भोक तिर्खा सबै मै हुँ बाबाको ममता म हुँ
म कला सीपमा जे हुँ बाबाको क्षमता म हुँ ।
९ बाँचुञ्जेल नजानेरै नचिनेरै गए दिन
सोधिएन कुनै धोको खोजी फुर्सदको क्षण
गर्नुहुन्थ्यो सबै ऐले क्यै भए पनि चाहना
छन् मेरै सीँपमा भन्छन् बाबाका परिकल्पना ।
१० टेकी लौरो हिँडेको त्यो बेला खै कसरी भुलूँ ?
शून्यताले भरेका ती पाखामा कसरी डुलूँ ?
तस्मात् माया दिने मान्छे जिन्दगीमै गरून् सब
मरे पछि त के हो के के काम आँसुका दह ?